हेटौँडा । बागमती प्रदेश विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णय गरेको छ।
बैठकले सम्भावित जोखिमयुक्त हिमनदी हुँदै बग्ने बागमती प्रदेशका नदीहरूमा अटोमेटिक साइरनसहितको पूर्वसूचना प्रणाली जडान गर्ने निर्णय गरेको छ। प्राविधिक अध्ययन समितिले दिएको सुझावका आधारमा उक्त प्रणाली कार्यान्वयन अघि बढाइने जनाइएको छ।
यस्तै, रसुवा बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक बजेट पहिचान, व्यवस्थापन तथा समन्वय गर्न बागमती प्रदेशका आर्थिक मामिला मन्त्रीको नेतृत्वमा पाँच सदस्यीय बजेट व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
बैठकले भदौ १० गतेदेखि हालसम्म विपद् प्रभावित क्षेत्रमा प्रदेश सरकारले गरेको उद्धार, राहत तथा तत्कालीन व्यवस्थापनसम्बन्धी खर्चसमेत अनुमोदन गरेको छ।
विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी बनाउन प्रदेशका सम्बन्धित मन्त्रालय, स्थानीय तह र संघीय निकायबीच आवश्यक समन्वय गर्ने तथा थप पुनर्निर्माणका लागि प्रदेश विपद् कोषमा संघीय सरकारसँग रकम माग गर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, बागमती प्रदेशभित्रका स्थानीय तहसँग यस वर्ष विपद्का कारण मानवीय संकट उत्पन्न भएका तथा भविष्यमा जोखिम हुन सक्ने क्षेत्रलाई ध्यानमा राखी आवश्यक माग तथा प्रस्ताव पेश गर्न आग्रह गर्ने निर्णय भएको छ।
रसुवा विपद्मा परी बेपत्ता भएकामध्ये आवश्यक प्रक्रिया पूरा गरी मृत घोषणा भएकाहरूका परिवारलाई प्रदेश सरकारले उपलब्ध गराउने प्रतिव्यक्ति एक लाख रुपैयाँ स्थानीय तहमार्फत प्रदान गर्न अनुमति दिने निर्णयसमेत बैठकले गरेको छ।














