कुलेखानी–फाखेल सडक भासियो, हेटौँडा–काठमाडौं आवागमन रोकियो: वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Image

हेटौँडा । लगातारको वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड भासिएपछि यातायात सेवा प्रभावित भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ किटिनीमा सडकको ठूलो हिस्सा भासिएपछि तत्कालका लागि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।

यसअघि २०८१ सालको वर्षामा क्षति पुगेको उक्त सडकखण्ड मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। तर, पुनः निरन्तर वर्षा भएपछि सडक कमजोर बनेर भासिएको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुजन भण्डारीका अनुसार सडकको केही भाग मात्रै बाँकी रहेकाले सवारीको भार थपिँदा थप क्षति हुन सक्ने जोखिम छ। वर्षा भइरहेकाले तत्काल मर्मतको काम अघि बढाउनसमेत कठिन रहेको उनले बताए।

सडकको अवस्थाबारे जिओटेक्निकल अध्ययन भइरहेको छ। अध्ययनपछि आगामी दुई–तीन दिनभित्र स्थायी समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

मौसममा सुधार आएर सडक सुक्खा भएपछि जोखिमको अवस्था हेरी सामान्य रूपमा एकतर्फी सवारी सञ्चालन गर्न सकिने बताइएको छ। हाल भने हेटौँडा–काठमाडौं यात्रा गर्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।