प्रदेश सरकारको बजेटमा विकास खर्चको हिस्सा दुई तिहाइभन्दा बढी

Image

हेटौंडा/ बागमती प्रदेश सरकारले आफ्नो कुल बजेटको दुई तिहाइभन्दा बढी रकम विकास निर्माणमा छुट्याएको जनाएको छ। प्रदेश सरकारलाई अनावश्यक रूपमा खर्चिलो र बोझिलो संरचनाका रूपमा चित्रण गर्ने गरिएकोप्रति असहमति जनाउँदै मुख्यमन्त्री किरण थापा मगरले बजेटको ठूलो हिस्सा विकास तथा दीर्घकालीन सम्पत्ति निर्माणमा खर्च हुने बताउनुभएको हो।

चालु आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले ६६ अर्ब ९३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। त्यसमध्ये ४३ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत विकासतर्फ छुट्याइएको मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो।

प्रदेश सरकारका अनुसार सडक, पूर्वाधारलगायत नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विकास आयोजनामा उक्त रकम खर्च हुने गरेको छ। मुख्यमन्त्री थापा मगरले विकास बजेटको हिस्सा उच्च रहेकाले प्रदेश संरचनालाई केवल प्रशासनिक खर्चका आधारमा मूल्याङ्कन गर्न नहुने धारणा राख्नुभयो।

कुल बजेटमध्ये २२ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत चालु खर्चतर्फ रहेको छ। यसमा कर्मचारीको तलब–भत्ता, कार्यालय सञ्चालन, मर्मतसम्भार, सामाजिक सुरक्षालगायत नियमित प्रकृतिका खर्च समेटिएका छन्।

प्रदेश सरकारको संरचना र खर्च व्यवस्थापनमा सुधारको आवश्यकता भने आफूहरूले स्वीकार गरेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो। त्यसका लागि मन्त्रालयको संख्या घटाउने, विभिन्न कार्यालयलाई एकीकृत गर्ने तथा प्रशासनिक संरचनालाई व्यवस्थित बनाउने काम अघि बढाइएको उहाँको भनाइ छ।

प्रदेश संरचनाबारे थप अध्ययन भइरहेको जानकारी दिँदै उहाँले संरचनामा सुधार गर्न सकिने भए पनि प्रादेशिक सरकारको आवश्यकता भने कायमै रहेको दाबी गर्नुभयो।

‘प्रदेश सरकार बोझिलो भयो, खर्चिलो भयो भन्ने आम सर्वसाधारणले सायद नबुझेरै भन्नुभएको हुनुपर्छ,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो।

विकास निर्माणसँगै विपद् व्यवस्थापनमा समेत प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो। प्रदेश सरकारलाई थप प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले संरचना तथा खर्च व्यवस्थापनमा सुधारको प्रक्रिया निरन्तर अघि बढाइने उहाँको भनाइ छ।