हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको १४ जनाको ज्यान जाने गरी भएको ईभी दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले छानबिन समिति गठन गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई ७ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।
समितिले हेटौंडा–देउराली हुँदै काठमाडौं आवतजावत गर्ने सडकखण्डमा यात्रुवाहक सवारी दुर्घटना हुनुका कारण, २०८३ कात्तिक २६ गते बिहान चिसापानीगढीमा भएको ईभी दुर्घटनाको वास्तविक कारण तथा भविष्यमा यस्ता दुर्घटना रोक्न आवश्यक उपायबारे अध्ययन गर्नेछ।
समितिमा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर निरोज महत, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयकी कानुन अधिकृत अनुसुया भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश बिष्ट सदस्य रहेका छन्।
समितिले सडक सुरक्षाका जानकार, व्यवसायी तथा सरोकारवालासँग छलफल र अन्तरक्रिया गरी दुर्घटनाका कारण तथा सुधारका उपायसहितको प्रतिवेदन तयार गर्नेछ।
उक्त दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
















