हेटौंडा ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन् ।
हिजो हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आयोजना गरिएको अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान साथै बिदाई र एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी, शिक्षकसँगै अभिभावकले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी हुन् ।
सबै पक्ष जिम्मेवार भएभने मात्र विद्यार्थीको भविष्य राम्रो हुने भन्दै मन्त्री मोक्तानले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको रामेछाप स्थित गाउँको उदाहरण दिएकि थिईन ।
त्यहाँ तामाङ बस्ती भएपनि रामेछापको कुलमान घिसिङको गाउँको विद्यालयमा पढेका सबै विद्यार्थी डाक्टर, ईन्जिनियर भएको भन्दै मन्त्री मोक्तानले शैक्षिक गुणस्तर बढाउँदै असल,सभ्य, अनुसासित नागरिक बनाउन बिध्यालय व्यवस्थापन समिति, शिक्षकसंगै अभिभावक बढी सचेत बन्नुपर्नेमा उनको भनाई साथै जोडरहेको थियो।
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा लामोसमय अध्यापन गराउनु भएका पूर्व शिक्षकहरु रामकृष्ण रोक्का र श्यामकुमार भारद्वाजलाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो । साथै विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गरेको भन्दै स्थानीय चन्द्रबहादुर वाईबा र गोपी बर्तौलालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष मनोजकुमार वाईबा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, विद्यालय व्यस्थापन समितिका सदस्य बिरबहादुर गोले ‘सानु’ समाजसेवी बसन्तकुमार लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।