Khabar Board

हेटौंडा पाँच दलीय गठवन्धनको तर्फबाट मुख्य पदमा, भालेवाद , हाबी

हेटौँडा।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठवन्धनको तर्फबाट १० स्थानीय तहको मुख्य पदमा(भालेवाद) हाबी भएको छ ।

मकवानपुरको १० स्थानीय तहमा रहेको २० वटा प्रमुख र उपप्रमुख साथै अध्यक्ष ,उपाध्यक्ष पद मध्ये नेपाली कांग्रेसले एक स्थानीय तहमा पनि महिलालाई अबसर दिन सकेका छैनन् ।

गठवन्धनको ठुलो दलको रुपमा रहेको नेपाली कांग्रेसमा (भालेवाद)ले अझ धेरै स्थान ओगटेको छ । कांग्रेसले अध्यक्ष/उपाध्यक्ष तथा मेयर/उपमेयर प्राप्त गरेको सबै स्थानीय तहमा महिलालाई बञ्चित गरेको छ । कांग्रेसले उपमेयर प्राप्त गरेको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका दुबैमा पुरुष उम्मेद्वार बनेका छन् । हेटौँडामा राजेश बानीयाँलाई उम्मेद्वार बनाएको कांग्रेसले थाहा नगरपालिकामा भरत गोपालीलाई उम्मेद्वार बनाएको छ ।

कांग्रेसले अध्यक्ष प्राप्त गरेको बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, महनहरी गाउँपालिकामा पनि पुरुषहरुनै उम्मेद्वार बनेका छन् । भने उपाध्यक्ष प्राप्त गरेको बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोबर गाउँपालिकामा पनि पुरुषमात्रै उम्मेद्वार रहेका छन् ।

महिला मुक्तिको ठुलो नारा लगाउने नेकपा माओवादी केन्द्रले पनि जिल्लाको मकवानपुरगढी र बागमतीमा बाहेक अन्य कुनै गाउँपालिकामा महिलालाई स्थान दिन सकेन् । माओवादीले भागवण्डामा प्रमुख/अध्यक्ष पाएको थाहा नगरपालिकाको प्रमुखमा विष्णु विष्टलाई उम्मेद्वार बनाउँदा भीमफेदी गाउँपालिका तथा बागमती गाउँपालिकामा पुरुष उम्मेद्वारहरु मैदानमा उत्रेका छन् ।

माओवादी केन्द्रले उपाध्यक्ष पाएको मकवानपुरगढी र मनहरीमा महिलालाई उम्मेद्वार बनाएको छ भने त्यस बाहेक माओवादीले उपाध्यक्ष पाएको बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिकामा पुरुषलाई नै उम्मेद्वार बनाएको छ । माओवादीबाट बकैयाको अध्यक्षमा उम्मेद्वार दिएकी माओवादी नेतृ लक्ष्मी माझीले उम्मेद्वारी फिर्ता गरेकि छिन् ।

(भालेवाद)को चर्को बिरोध गर्ने माझीले अध्यक्षमा नेपाली कांग्रेसको पुरुष उम्मेदेवारलाई समर्थन गर्दै उम्मेद्वार फिर्ता लिएकी छिन् । उनको उम्मेद्वारी फिर्ताले पनि माओवादीमा गाँजिएको (भालेवाद)लाई थप पुष्टि गरेको छ । स्थानीय तहको राजनीतिमा संविधानले एउटै राजनीतिक दलबाट उम्मेद्वार दिँदा प्रमुख र उप्रमुख मध्यमा एकजना महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरेको छ । तर गठवन्धनको नाममा महिलालाई संबैधानिक अवसरबाट बञ्चित गराईएकोमा महिला नेतृहरु दुखि बनेका छन् ।

गठवन्धन गर्दा महिला नेतृत्वको अवसर खोस्न नहुँने भन्दै नेपाली कांग्रेसको महिला नेतृहरुले जिल्ला पार्टी कार्यालय परिषरमै पत्रकार सम्मेलन  गरी जानकारी गराएका थिए । तर उनिहरुको मागलाई कांग्रेसले एक कानले सुनेर अर्को कानले उडाईदिएको  गुनासो रहेको छ ।

लामो समयबाट कांग्रेस राजनीतिमा ‘फ्रन्टलाइन’मा लागेका महिला नेतृहरु स्थानीय तहको निर्वाचनमा भने अवसरबाट विमुख भएका छन् । कांग्रेस हेटौँडाले उपमेयरको लागि तिनजना महिलालाई सिफारिस गरेको भएपनि गठवन्धनको नाउँमा उनिहरुको सिफारिसलाई रद्धिको टोकरीमा फाल्दै कांग्रेसले (भालेवाद) लाई प्रोत्साहन गरेको विश्लेषकहरुको दाबी छ । (खबरब्रेक)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.