हेटौंडा ।
नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीले अहिलेको गठबन्धन सरकार खान मात्र जन्मिएको टिप्पणी गरेका छन् ।अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले गरेको आमसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको केन्द्र र प्रदेश सरकारहरुले भएको मन्त्रालयहरुलाई फुटाएर खानको लागि मात्रै मन्त्रालयहरु थप गरेको बताएका छन् ।
उनले अहिले बागमती प्रदेशको राजधानी हेटौंडामा जता हेरो त्यतै मन्त्री नै मन्त्री देखिने गरेको तर काम भने केहिपनि गर्न नसकेको बताएका छन् । उनले प्रदेश सरकारमा नयाँ सरकार बनेको केहि दिनमै सबै सांसदलाई मन्त्री बनाउने काम मात्र भएको बताए । उनले बागमतीमा एमालेको सरकारले ७ मन्त्रीले काम गरेको तर अहिलेको सरकारले १८ मन्त्री बनाएको भन्दै यो सरकार खान जन्मिएको र देशलाई कंगाल बनाउन लागि परेको दाबी गरेका छन् ।
उनले बागमती प्रदेशमा पुर्वमुख्यमन्त्री डोरमणी पौडेल रहेको समयमा विकासका कामहरु गरेको बताए । उनले एमालेको सरकार रहेको स्थानीय तहमा विकासका कामहरु उल्लेखनिय भएको बताउँदै आउने स्थानीय निर्वाचनमा एमालेको जित हुनेमा विश्वास व्यक्त गरे ।
उनले अहिलेको सरकारले फागुन भित्र सम्पन्न हुने स्थानीय निर्वाचनलाई धकेलेर पर सारेर बैशाख अन्तिममा निकालेको बताए । उनले गबन्धन सरकार अहिले बाध्यताले चुनाव गर्न लागेको तर चुनाव रोक्न गठबन्धन सरकार लागि परेको आरोप पनि लगाए ।
उनले देशभर एमालेको लहरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी गरे । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले आगामी बैशाख ३० गते हुने निर्वाचनबाट देश लुट्नको लागि निर्माण गरिएको गठवन्धन नामको ‘लुतो’ फालिने बताएका छन् ।
उनले भने ‘सामन्यतया त हाम्रो नेपाली ससमाजमा साउन १ गते लुतो फाल्ने चलन छ, तर यो पटक त्यो भन्दा अघिनै गठवन्धनरुपी लुतोलाई जनताले बैशाख ३० गते नै फाल्नेछन् ।’ उनले यो वर्ष बैशाख ३० गते नेपाली राजनीतिको ‘लुतो’ लाई जनताले फाल्देर स्वस्थ स्थानीय सरकारको लागि एमालेलाई मतादान गर्ने बताए ।
नेकपा एमालेलाई देशभर मतदान गर्न सहज रहेको भन्दै उनले भने ‘एमालेलाई त कति सजिलो छ मतदान गर्न र भोट माग्न, सात सूर्य भन्न मिल्छ तर गठवन्धनले के भनेर माग्ने ? चितवनमा प्रचण्डले छोरीको लागि के भनेर मत माग्ने ? ’
उनले प्रचण्डले छोरी जिताउनको लागि मात्र पाँच हजार नेपाली जनताको बलि चढाएको देखिएको भन्दै उनको लागि स्थानीय तहमा छोरी र प्रतिनिधिसभामा आफु तथा बुहारीको मात्र ध्यान हुने ओलीको आरोप छ । प्रचण्डले छोरीको लागि चितवनमा कांग्रेस कार्यकर्ताको बिचल्ली बनाएको भन्दै टिप्पणी गरेका छन् ।