हेटौंडा।
उपमहानगरपालिकाले मासिक १० हजार लिटरसम्म खानेपानी निशुल्क उपलब्ध गराउने भएको छ । आज बिहीबार खानेपानी व्यवस्थापन बोर्ड पदाधिकारीको बैठकले खानेपानी निशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । बैठकमा मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ साथै १९ वटै वडाका अध्यक्षसहितको उपस्थिति रहेको थियो।
बैठकले मासिक न्यूनतम शुल्क ८५ रुपैयाँ बराबरको १० हजार लिटरसम्म खानेपानी निशुल्क उपलब्ध गराउने निर्णय गरेको मेयर मिना लामाले जानकारी दिनुभएको छ । खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धाराहरूमा मात्र यो निणर्य लागु हुने मेयर लामाले बताउनुभएको छ । २३ हजार ५ सय धाराको हकमा मात्र यो निणर्य लागू हुने पनि उनले बताएका छन् ।
उक्त सुविधाबाट हेटौंडा उपमहानगरपालिकाले १ लाख ४५ हजार जनसंख्याले लाभ पाउने दाबी गरिएको छ । खानेपानी उपलब्ध गराएबापत् उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।
सत्तारुढ गठबन्धनले चुनावको समयमा न्यूनतम शुल्क बराबरको खानेपानी र विद्युत् निशुल्क उपलब्ध गराउने घोषणा गरेका थिए ।