हेटौंडा ।
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेमा लाइसेन्स प्राप्त गर्न सकिनेछ । संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाअनुसारको मापदण्ड लागू गर्न लागिएको बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिएका छन ।
यो नयाँ मापदण्ड अन्य प्रदेशले लागू गरिसकेका कारण असोज १ बाट हामी पनि नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ । मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुइँ टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ ।
नयाँ व्यवस्थाअनुसार घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा फेल हुनुपर्ने छैन । रेखा छोएमा पाँच अंक घट्नेछ । एक पटक खुट्टाले भुइँमा टेके पाँच अंक घट्नेछ । युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक र ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ । यसरिनै अंक घट्दै गएर ७० अंक भन्दा कम आएमा मात्र लाइसेन्स नपाउने व्यवस्था रहेको छ । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँ टेकेमा पाँच र एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अंक घट्ने नयाँ व्यवस्था गरिएको छ ।
सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अंक घट्ने व्यवस्था निर्देशिकामा रहेको छ । हेलमेटको लक नलगाई सवारी चलाएमा पनि चार अंक घट्नेछ ।
कान्तिपुरबाट