बागमती प्रदेशः भौतिक मन्त्रालयमा १० हजार योजना को माग

Image

हेटौंडा। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा बिकास निर्माण लगायतका दश हजार वटा योजना निर्माणका लागि माग गरिएको छ । प्रदेशका १३ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रबाट योजना माग गरेर मन्त्रालयमा आउनेक्रम जारी नै रहेको छ ।

योजना माग गर्नेहरु बिभीन्न राजनीतिक दल, स्थानीय समाजसेवीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, प्रदेश र संघीय सांसदहरु लगायतकाबाट योजना माग गरेर राखिएका फाइलहरुको चाँङ लागेको मन्त्रालयका एक कर्मचारीले बताएका छन् । भौतिक मन्त्रालयमा ५ हजार वटा योजनाको नाम ठेगाना राखेर टाइप गरिसकिएको र अरु बाँकी पाँच हजार वटा योजनाको नाम ठेगाना राखेर टाइप गर्नका लागि बाँकी रहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

ठुला योजना माग गरेर ठेक्का मार्फत आफ्नो गाउँको बिकास गर्ने भन्दा पनि साना खालका योजना माग गर्ने र उपभोक्ता समिति बनाएर आफै काम गर्ने खालका योजना माग गरिएका छन् ।

अधिकांश योजनाहरु सडक निर्माण, ढल निर्माण, भवन निर्माण लगायतका पूर्वाधार निर्माणका योजनाहरु रहेका छन् । तर, मन्त्रालयले भने साना योजनाहरुलाई भन्दा पनि ठुला योजनालाई प्राथमिकता दिएर काम गर्ने तयारी गरिएको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताउनुभएको छ ।

प्रदेश सरकारले प्रदेश भित्र रहेका  सडकलाई प्राथमिकता दिएर बजेट छुट्याउने तयारी गरेको पनि बताउनुभयो । बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रलाई समेटेर बजेट निर्माण गर्ने र स्थानीय तहका केन्द्रलाई पक्की सडकसंग जोड्नेगरी बजेटमा प्राथमिकता दिने मन्त्री दुलालले बताउनुभएको छ । त्यसैगरी सडक मर्मतको कामलाई पनि उत्तिकै जोड दिने उहाँले बताउनुभएको छ ।