गर्यो बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

Image

हेटौंडा। बागमती प्रदेश सरकारले हेटौंडामा बागमती विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेर आजबाट सञ्चालनमा ल्याएको हो । बागमती प्रदेश सरकारले लामो प्रयासपछि विश्वविद्यालय सञ्चालनका लागि बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको कमानेमा बागमती विश्वविद्यालय सम्पर्क कार्यालयको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार उद्घाटन गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेले लामो समयको गृहकार्यपछि विश्वविद्यालय स्थापना गर्ने योजनाले सफलता पाएको बताउनुभयो।

प्रदेश शिक्षा विकास निर्देशनालयको भवनमा सम्पर्क कार्यालय उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री प्रदेशको एकल अधिकारको रुपमा रहेको प्रदेश विश्वविद्यालय स्थापना गर्न पाउने अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

उहाँले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकतमा राख्ने बताउँदै शिक्षामा कोटा प्रणालीविरुद्धमा प्रदेश सरकार रहेको बताउनुभयो । शिक्षामा आमूल परिवर्तन आवश्यक छ । शिक्षामा प्रवेश परीक्षा प्रणाली उचित होइन ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान र सामाजिक विकास मन्त्रालयका सचिव डा भिष्मकुमार भुसालले विकासको महत्त्वपूर्ण पक्षमध्ये एक प्रदेश विश्वविद्यालय भएको बताउँदै अहिलेको माग र आवश्यकताको आधारमा पाठ्क्रम निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेसँगै बागमती प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि थप प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ । यस अघि बागमती विश्वविद्यालयको विधान तयार भइसकेको छ ।

विधानमा प्रदेश उच्च शिक्षा ऐन २०७८ मा भएको व्यवस्था अनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज), प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरिएको छ ।