बागमती प्रदेशको २०८१- ०८२ को आर्थिक नीति तथा कार्यक्रम सार्वजनिक

Image

हेटौंडा – मकवानपुर वाग्मती प्रदेश सरकारले उत्पादन र रोजगारीलाई जोड दिँदै आगामी आर्थिक वर्ष २०८१ र ०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार वाग्मती प्रदेशका प्रदेश प्रमुख यादबचन्द्र शर्माले कृषि, औद्योगीकरण तथा सीप विकासमा जोड दिइएको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए ।
कृषि उत्पादन वृद्धिका लागि नीति निर्माण गर्ने, प्रांगारिक मल उत्पादन कारखाना स्थापना गर्ने, बन्द उद्योग सञ्चालन गर्ने, औद्योगिक ग्रामको स्थापना तथा सीप विकास तालिम सञ्चालन गर्ने घोषणा गरिएको छ ।

शर्माका अनुसार मानव र वन्यजन्तुको द्वन्द्व न्यूनिकारणका लागि आवश्यक व्यवस्था गरिने। बाँदर बँदेल लगायतका वन्यजन्तुबाट हुने धनजन तथा खाद्य बालीको क्षति न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने छ भने वनको पत्करबाट प्राङ्गारिक मल बनाउने कार्यक्रम सञ्चालन गरिने, डढेलोमुक्त प्रदेश निर्माणका लागि संयन्त्र निर्माण गरी औजार उपकरणसहित व्यवस्था गरिने छ ।

संरचना निर्माण गर्दा अनिवार्य रूपमा स्वदेशी काठको प्रयोग गर्ने भएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशी काठको आयात निरुत्साहित गर्न स्वदेशी काठको गुणस्तर वृद्धि गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने बताए ।

शर्माले युवा उद्यमशीलता विकासका लागि सीप वर्ष घोषणा गरी कार्यान्वयन गरिने जनाएका छन् । ‘कृषक सूचीकरण र वर्गीकरण गरी प्रोत्साहन गरिनेछ । कृषि उपजको बजार केन्द्रहरूको पूर्वाधार निर्माण र व्यवस्थापनको व्यवस्था गरिने ,प्रदेशस्तरमा खाद्य गुणस्तर प्रविधि प्रयोगशाला स्थापना गरिने, प्रदेशमा उपलब्ध फलफूल र अन्नबालीको प्रयोग गरी मदिरा उत्पादनका लागि सङ्गीय सरकारसँग समन्वय गरिने घोषणा गरे ।

बागमती विश्वविद्यालयको स्थापना, संरचना निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने छ । प्रदेश परिचय विषयको पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्ने, व्यवहारिक र प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, स्थानीय तहसँगको समझदारीमा माध्यमिक विद्यालयहरूलाई आवासीय विद्यालयको रूपमा विकास गरिने छ ।

प्रदेश सरकार, निजी क्षेत्र तथा दुध उत्पादक सहकारीको साझेदारीमा वाग्मती धुलो दुध कारखाना सञ्चालन गरिने, हेटौंडामा निर्माणाधीन थोक तरकारी बजार सञ्चालन गर्ने, अभियानको रूपमा प्याज र लसुन खेती कार्यक्रम सञ्चालन गरिने नीति प्रदेशको रहेको छ । ‘एक निर्वाचन क्षेत्र एक प्रांगारिक मल कारखाना’ भन्ने नारा अगाडि बढाउँदै शर्माले यसका लागि स्थानीय तहसंग समन्वय गरिने बताएका छन।

एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम’ नीतिलाई समेत सरकारले प्राथमिकताका साथ अघि बढाइने ,प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने, लगानी दशकको रूपमा अभियान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश सरकारले बन्द उद्योगहरू सञ्चालन गर्न व्यवस्था गर्ने जनाएको छ ।

प्रदेश सरकारले सवारी चालक अनुमति पत्र प्रदेशमा नै छपाइने व्यवस्था मिलाउने ‘यातायात कार्यालयको सेवालाई अनलाइन सेवाबाट सञ्चालन गरिने नीतिमा उल्लखे छ । नीति तथा कार्यक्रममा सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने प्रतिबद्धता समेत जनाइएको छ।

एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम लाई विस्तार गर्दै स्थानीय तहसँगको समन्वयमा समुदायसम्म सञ्चालन गरिने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई समयानुकूल बनाउँदै कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ । स्वास्थ्य क्षेक्रमा आवश्यक जनशत्तिलाई व्यवस्थापन गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रियाशील बनाइने घोषणा गरिएको छ ।

प्रदेशले खेलकुद पूर्वाधारको विकास र खेलाडी प्रोत्साहनको नीति अवलम्बन गर्ने भएको छ । भरतपुरमा निर्माणाधीन गौतमवुद्ध क्रिकेट रंगशाला सहलगानीमा सम्पन्न गर्ने र हेटौंडाको गौरिटार रंगशाला निर्माणाधिन अवस्थामा आवश्यक पूर्वाधार विकास समयमै सम्पन्न गर्ने जनाइएको छ ।