हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले आगामी पाँच वर्षका लागि आवधिक योजना (२०८१/८२–२०८५/८६) सार्वजनिक गरेको छ ।
स्वच्छ, उत्पादनशील, समृृद्ध शहर हेटौंडा’ मुख्य लक्ष्यसहित तयार गरिएको आवधिक योजनामा महत्वपूर्ण योजनाहरु समावेश गरिएको उपमहानगरपालिकाले जनाएको छ । लगभग एक वर्षको अवधिमा नगरपालिकाले दोस्रो अवधिका योजना तर्जुमा तयार पारेको हो ।
नगरका विभिन्न वडाहरुको भौगोलिक सुचना प्रणालीमा आधारित तथ्याङ्क संकलन गरिएको थियो । जसमा विषयगत उपसमितिहरु, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति र वन वातावरण तथा व्यववस्थापन विकास समिति गठन गरी छलफल प्रक्रियाबाट शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारीका क्षेत्रहरुलाई समेटेर नगरपालिकाले योजनाहरु तयार पारेको छ ।
आवधिक योजना भित्र गौरवका योजनाहरुमा हेटौंडा कम्पलेक्स निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याईने, हेटौंडा टर्मिनल बसपार्क निर्माण, प्रादेशिक कृषि थोक बजार व्यवस्थापन गरिने, हेटौंडा उपमहानगरपालिका चक्रपथ, गुम्बा डाँडाँ मूर्ति पार्कलाई अन्तर्राष्ट्रिय स्तरको मूर्ति कार्यशाला पार्कको रुपमा विकास गरिने, कर्रा करिडोर व्यवस्थापन गरिने ७ कि.मि. अटो भिलेज निमार्ण तथा व्यवस्थापनमा जोड दिईने, लेवल ट्रक टर्मिनल बनाईने, जु पार्क स्थापना गरिने वन विज्ञान प्रतिष्ठानको सहरी वनमा,वडा नम्बर १६,१७ र १८ मा जग्गा एकीकरणको काम गरिने, मदन भण्डारी राजमार्ग वडा नम्बर १६,१७ र १८ लाई करिडोरको रुपमा विकास गर्ने प्रमुख योजनाहरु समावेश गरिएका छन् ।
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८५/०८६ सम्मका योजना हरु मानव विकास सूचांक ०.६५०, औसत आयु ८५ वर्ष, निरपेक्षा गरीबिको रेखामुनी रहेको जनसंख्या ५ प्रतिशत, प्रतिव्यक्ति वार्षिक आय १५०० डलर, कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३५ प्रतिशत, कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १५ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ ।
दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी आन्तरिकिकरण गर्ने, उद्योग क्षेत्रको प्रबद्र्धन र विकास मार्फत स्वरोजगार तथा रोजगारीको सिर्जना गर्ने, कृषिको आधुनिकिकरण तथा व्यवसायीकरण मार्फत उत्पादन तथा उत्पादकत्व बढाउने, शिक्षा स्वास्थ्य लगायत आधारभुत सेवा सुविधाको गुणस्तर वृद्धि साथै पहुँच विस्तार गर्ने, सबै प्रकारका सामाजिक विभेदको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने, पूर्वाधार निर्माणमा स्थानीय स्रोत साधनको उपयोगलाई उच्च प्राथमिकता दिने योजना निर्माण गरिएको छ ।