मकवानपुरमा एसइई नतिजा: जिल्लाबाट ३.६ जिपीए देखि ४ सम्म हासिल गर्ने २५८ जना एकजनाको ४ जिपीए

Image

हेटौंडा । बिहीबार एसइईको नतिजा सार्वजनिक भयो। नजिता अघिल्ला बर्षहरुमा भन्दा निकै खस्किएको छ। परिक्षामा सहभागी विद्यार्थीमध्ये ५२ प्रतिशत विद्यार्थी फेल भएका छन् । देशभरकै यस्तो अवस्थाको परिक्षाफल आएको अवस्थामा मकवानपुरका केही विद्यालयको एसईई नतिजा शून्य भएको छ । १० वटा स्थानीय तह रहेको मकवानपुरमा सामुदायिक विद्यालयतर्फको नतिजा झन खस्किएको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको तथ्यांक अनुसार जम्मा ३६.४७ विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

मकवानपुर जिल्लाबाट एसइईमा सहभागी ५ हजार ७ सय ५२ जना विद्यार्थीमध्ये २ हजार ९८ जना मात्रै उत्तीर्ण भएका हुन्। जिल्लाका तीन हजार ६ सय ५४ जना विद्यार्थी कक्षा ११ भर्ना हुन नपाउने अर्थात् ननग्रेडेड (एनजी) भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका इकाइ प्रमुख दिनानाथ गौतमका अनुसार जिल्लाबाट जिपिए ३.६ देखि ४ सम्म हासिल गर्ने २५८ जना, जिपिए ३.२ देखि ३.६ हासिल गर्ने ५९२ जना रहेका छन् । यस्तै, जिपिए २.८ देखि ३.२ हासिल गर्ने ७६५ जना, जिपिए २.४ देखि २.८ हासिल गर्ने ४५१ जना र जिपिए २.० देखि २.४ हासिल गर्ने ३२ जना रहेका छन् ।

मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याउने एक्ली छात्रा बनेकी छिन् रितिका छत्कुली। ४ जिपिए हासिल गरेकी हुन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका अनुसार उनी जिल्लाबाट परीक्षामा सहभागी पाँच हजार सात सय ५२ जनामध्ये उत्कृष्ट हुन सफल भएकी हुन् । हेटौंडा उपमहानगरपालिका– २ मा रहेको बालजागृति इंग्लिस सेकेन्डरी स्कुल हेटौंडाकी छात्रा रितिका छत्कुली एसइई परीक्षामा ४ जिपिए ल्याएसँगै मकवानपुर जिल्लामा प्रथम भएकी हुन् ।