हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेले
सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२,मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तादिदै संयुक्तरुपमा राजीनामा बुझाएका छन् ।
एमालेबाट सरकारमा रहेका आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ रहेका थिए ।
अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा नदिई प्रदेशसभाबाट विश्वासको मत लिने बताउनुभएको छ । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी रहेको छ भने मुख्यमन्त्रीमा कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा दाबेदार रहेका छन् ।