हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई १६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उपमहानगरपालिका भित्रका १९ वटै वडा लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।
जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले मेयर लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
हेटौंडा उपमहानगरभित्र १६ महिना देखि ५ वर्षसम्मका ७ हजार १ सय ८५ बालबालिकाले निर्धारित सम्पूर्ण खोपको मात्रा पूरा गरेका छन् । ३ हजार ९ सय ४१ बालबालिका पूर्ण खोपको चरणमा रहेको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य साखाका सदस्य सचिव सूर्य प्रसाद तिवारीले जानकारी दिएका छन्। उपमहानगर क्षेत्रका २ जनाले मात्रै कुनै खोप नलगाएको पाईएको तिवारीले बताएका छन ।
पालिका पूर्ण खोप समन्वय समिति संयोजक एवं मेयर लामाले खोप सुनिश्चिततालाई निरन्तरता दिन उपमहानगर प्रतिबद्ध रहने बताए। कार्यक्रममा मेयर, उपमेयर , वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।















