एतिहासिक चुरियामाई सुरुङमार्ग हेटौंडा उपमहानगरपालिका लाई जिम्मा

Image

हेटौँडा । दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङमार्ग को पुर्ननिर्माण कार्य सकिएको ८ महिनापछि आज देखि सर्वसाधारणका लागि खुला गरिएको छ । हेटौँडा उपमहानगरपालिका १५ चुरियामाई मा रहेको उक्त सुरुङ मार्ग प्रदेश सरकारले जीर्णोद्धार गरी सञ्चालनका लागि आज हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।

यसपछि उपमहानगरपालिकाले व्यवस्थित गरि चुरियामाई सुरुङमार्ग अवलोकनका लागि खुला गरिएको हो।
सुरुङ संचालनका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । उक्त कार्यविधिमा सुरुङ अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५० रुपैयाँ, विदेशीलाई प्रतिव्यक्ति १२० रुपैयाँ, ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकलाई निस्शुल्क, विद्यार्थीलाई २० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । मुलुककै ऐतिहासिक सुरुङको बीच भाग भासिएर अत्यन्त जोखिम अवस्थामा रहेको थियो ।

नेपालका प्रथम इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार गरिएको हो । सुरुङ मार्गभित्र विद्युतीय लाइट जडान गरिएको छ । सुरुङमार्ग आज देखि पुर्ण रुपले खुल्ने भएको हो।