राक्सिराङ्ग कृषि हाटबजार सञ्चालनमा आएसँगै उत्पादक र उपभोक्ता खुसी

Image

हेटौंडा / पछिल्लो समय स्थानीय तहको अग्रसरतामा गाउँ घरमै कृषि हाट बजार खुल्न थालेका छन् । जसले गर्दा किसानको उत्पादनले बजार पाउन थालेको छ ।

पछिल्लो समय केही स्थानीय तहहरूले गाउँमा नै उत्पादित अर्ग्यानिक वस्तुलाई प्राथमिकता दिएर हाट बजार सञ्चालनमा ल्याउन थालेका छन। त्यसमध्ये मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले आजदेखि हरेक स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले महिनाको १ गते र १५ गते चैनपुरमा हाटबजारको व्यवस्था गरिएको छ ।

उत्पादकलाई सिँधै उपभोक्तासँग जोड्नका लागि कृषि हाट बजार सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । गाउँपालिकाले कृषि बजार सञ्चालनमा ल्याएसँगै किसानहरूमा खुसी छाएको छ । पहिला उत्पादित कृषि वस्तुले बजार पाउँदैन थिए ।

हाटबजारमा सहभागी एक किसानले भने,पहिला हामीले उत्पादन गरेको वस्तु बिक्री नै हुँदैन थियो । यस्ता वस्तुहरूले बजारको समस्या झेल्दै आएका थियौँ। स्थानीय उत्पादन प्रचार र बजार नपाएका स्थानीय उक्त हाट बजारमा किसानहरूले आफूले उत्पादन गरेका सबै कृषि उपज बिक्री गर्न पाएकोमा खुसी व्यक्ति गरेका छन्।

गाउँमा नै बजार खुलेपछि आम्दानी सुरु भएको भन्दै अब धेरै खेती गर्न नसके पनि जति सक्छौ, त्यति उत्पादन गरेर बिक्री गर्ने किसानहरू बताउँछन् । यसरी गाउँमा नै कृषि बजार सञ्चालनमा ल्याउने राक्सिराङ्ग गाउँपालिका मात्र हैन ।

पछिल्लो समय धेरै गाउँपालिका, नगरपालिकाहरुले कृषि बजार सञ्चालनमा ल्याएका छन् ।
दुर्गम स्थानहरूको सानो क्षेत्रमा उत्पादन हुने निकै सानो परिमाणका रैथाने बालीहरू र तरकारी थोरै कृषि उपज बजारसम्म पुर्‍याएर ग्रामीण स्वरोजगार वृद्धि र ग्रामीण अर्थतन्त्र बलियो बनाउन हाटबजार संचालन गरेको गाउँपालिका अध्यक्ष मल्लले बताउदै अब हाट बजारका कारण किसान व्यावसायिक बन्ने बिस्वास व्यक्त गर्नुभयो।