मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण व्यवस्थापनसम्बन्धी समिक्षा एवम् सुधारका विषयमा सुझाव सङ्कलन

Image

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका ५ मा बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको तेस्रो दिन पर्सा राष्ट्रिय निकुञ्जले मङ्गलबार हेटौँडामा मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्र व्यवस्थापनसम्बन्धी विधमान कानुनी प्रावधानहरुको समिक्षा एवम् सुधारका विषयमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न आयोजना गरिएको नीति संवाद कार्यक्रम गरिएको हो।

कार्यक्रममा सङ्घीय वन तथा वातावरण राज्यमन्त्री रुपा विकले सरकार मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणको प्रयासमा लागिरहेको बताउनुभएको छ ।

बागमती प्रदेश सभाका सदस्य एका लाल श्रेष्ठले मध्यवर्ति क्षेत्रमा दोहोरो शासन रहेको भन्दै नागरिकलाई अलग राखेर वन्यजन्तु संरक्षण सम्भव नभएको बताउनुभयो ।

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्जको अवस्थाका बारेमा जानकारी दिँदै वन्यजन्तु र मानवबिचको द्वन्द्व कम गर्ने गरी निकुञ्जसम्बन्धी ऐन कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक वेदकुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश चन्द्रवंशीलगायतले वन्यजन्तुको संरक्षणसँगै मध्यवर्ति क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका वडा अध्यक्ष, वन समूहका अध्यक्ष लगायतले निकुञ्ज ऐनमा संशोधनको माग गर्नुभएको थियो ।