हेटौंडा / हेटौँडा उपमहानगरपालिका भित्र निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुलाई लक्षित गरी जलवायु उत्थानशील कार्य सुदृढिकरण,अभिमुखीकरण कार्यक्रम भएको छ । गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख उपस्थितीमा नगरपालिकाको सभाहलमा भएको थियो।
कार्यक्रममा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका कार्यक्रम संयोजक अनन्त बानियाँले नेपालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु परिवर्तनमा परिस्थिती प्रणालीमा आधारित अनुकुलनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
मौसमको चरित्रमा परिवर्तन, कृषि र खाद्य सुरक्षा, जैविक विविधता प्रभाव, शिक्षा, स्वास्थ्य र कृषिमा प्रभाव, आवाज र संरचनामा प्रभाव र ऊर्जाको उत्पादनमा प्रभावसँगै जोखिम न्यूनीकरण र तयारीका विषयमा बृहत छलफल गरिएको थियो । वन संरक्षण र पुनस्र्थापना, कृषि प्रणाली अनुकुलन, जलवायु परिवर्तनका नीति र सुशासन, स्थानीय नीति निर्माणमा पालिकाको भूमिका बारे सल्लाह सुझाव साथै छलफल गरिएको थियो ।
कार्यक्रममा वन तथा वातावरण समितिका संयोजक एंव १० वडा का अध्यक्ष फुर्वादोर्जे लामाले नेपालमा कानून धेरै बने तर कार्यान्वयन नभएको भन्दै हामीमा पनि कमजोरी छ, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय गर्ने भूमिका नभएको बताउदै वन वातावरणको विषयमा नगरले आवश्यक नीति नियम निर्माण गरिनुपर्नेमा अध्यक्ष लामाले बताउनुभयो ।
त्यस्तै, प्रशासकीय प्रमुख सुर्यप्रसाद गौतमले वातावरणमा प्रभाव बढ्दै गएको र मानवीय क्रियाकलाप कम हुँदै गएको अवस्थाले पनि जलवायु परिवर्तनमा असर परेको बताउदै उपमहानगरले नगरक्षेत्र भित्र परेको जलवायु परिवर्तनका असर लक्षित आवश्यक नीति निर्माण गरिने बताउनुभयो ।
सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले पृथ्वीको तापनाप बढ्नाले जलवायु परिवर्तन भइरहेको बताउदै नगरले योजना मात्रै बनाएर हुदैन त्यसको लागि बजेटनै बनाएर आवश्यक योजनाहरु बनाउनुपर्ने भन्दै जलवायुले सबैभन्दा बढी स्वास्थ्य र कृषि क्षेत्रमा असर परेको र वैकल्पिक कृषि गर्न आधारशिला बनाउनुपर्ने जोड दिनुभयो।
यस्तै वन तथा वातावरण शाखा प्रमुख चन्दा खड्काले जलवायु सम्बन्धी नीति नभएपनि विपद्, आगलागी, पहिरो, फोहरमैला सरसफाइजस्ता विषयमा नीति बनेर कार्यानवयन भइरहेको जनाउदै यी विषयवस्तुमा कहिँकतै जलवायुका विषयवस्तु समेटिएको समेत बताउँदै फेकोफनसँगको सहकार्यमा वन वातावरण,खहरे क्षेत्रको समस्यामा पनि उपमहानगर प्रष्ट जानकारीका साथ काम गर्दै आइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ८ का वडाध्यक्ष रामकृष्ण थापा, ११ का वडा अध्यक्ष जुना दाहाल लगायत १९ वटै वडाका वडा सदस्यहरु, उपमहानगरका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । गैसस महासंघले यस अघि पाँचवटा स्थानीय तहसँग छलफल गरिसकेको छ ।















