हेटौंडा/ मकवानपुरको हेटौंडामा रहेको दुई ठुला विद्यालयलाई मर्ज गर्दै मेघा विद्यालय बनाउने लक्ष्य सहितको टोलीले बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा भुटनदेवी माविका अध्यक्ष नवीन सिग्देल सहित आधुनिक मावीका अध्यक्ष समिम खान, प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा-४ का संयोजक श्रीराम दाहाल, हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरिषचन्द्र सापकोटा सहितको टोलीले देशकै सबैभन्दा धेरै विद्यार्थी अध्यापन गर्ने कालिका मानवज्ञान विद्यालयको अवलोकन गरेको हो ।

कार्यक्रममा बोल्दै हेटौंडा-४ का वडाध्यक्ष सिग्देलले सिमाना जोडिएको विद्यालयलाई एक बनाएर देशकै ठूलो र नमुना विद्यालय बनाउने अभियानमा सम्पुर्ण हेटौंडाको सहयोग रहेको उल्लेख गरे । कालिकाको व्यवस्थापनबाट आफुहरुले पनि सहज ढ्ङ्गबाट यो अभियानलाई निचोडमा पुर्याउन सफल हुने उनले विश्वास व्यक्त गरे ।
आधुनिकमा करिब २८ सय बालबालिका र भुटनदेवी माविमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् ।
अवलोकन भ्रमणमा आधुनिक र भुटनदेवीका विद्यालय व्यवस्थापन समितीका सदस्यहरुको पनि सहभागिता थियो ।
















