हेटौंडा उपमहानगरपालिका–१३ ठुलोथली गुम्बाडाँडामा फागुन २ गते सोनाम ल्होसार बृहत साँस्कृतिक कार्यक्रम हुने

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ ठुलोथली गुम्बाडाँडामा आगामी फागुन २ गते सोनाम ल्होसार बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

तामाङ समुदायको भाषा, भेषभूषा, परिकार, र समग्र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजक मदन लामाले बताएका छन्। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा हुनेछ भने उपप्रमुख राजेश बाँनिया लगायत १९ वटै वडाका वडाध्यक्षहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा २६ वटा निःशुल्क स्टल रहनेछन्, जसमा मुख्य रूपमा तामाङ परिकार प्रस्तुत गरिनेछ। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साँस्कृतिक प्रस्तुति पनि रहनेछ। आयोजकका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान छ।
यस कार्यक्रम सोनाम ल्होसार बृहत साँस्कृतिक मूल समितिले सातौं पटक आयोजना गर्न लागेको हो।