समुदायिक विद्यालय तथा अभिभावकलाई लक्षित गरी सकारात्मक सोच अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

Image

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं. ११ को सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, हेटौंडा-११, थानाभर्याङ्गको आयोजनामा एक दिने “सकारात्मक सोच अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अरियाल प्रमुख अतिथि तथा हेटौंडा-११ की वडा अध्यक्ष जुना दाहालको विशेष अतिथि रहेकाे थियो। कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, प्रहरी सहायक हवल्दार निमा भण्डारी,  हेटौंडा ११ नम्बर वडा सदस्य गोपिनि सापको, गिता सुनार, त्रिभुवन मावि, नवलपुरकी व्यवस्थापन समिति सदस्य पदमाया हटुवाल लगायत सामुदायिक विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि अरियालले सकारात्मक सोच अभिवृद्धि, अभिभावक-शिक्षक सहकार्य सुदृढ पार्न तथा समुदाय-प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै उनले बालबालिकालाई कुलतबाट जोगाउन अभिभावकहरू सचेत रहनुपर्ने र उनीहरूको गतिविधिमा निगरानी राख्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा डा. अर्पण पराजुलीले विद्यालय तथा समुदाय स्तरमा सकारात्मक सोचको आवश्यकता, यसको दीर्घकालीन प्रभाव तथा समाजमा शान्ति, सद्भाव र अनुशासन कायम राख्न सकारात्मक दृष्टिकोणको महत्त्वबारे प्रकाश पार्नुभयो।
यो कार्यक्रमले समुदाय-प्रहरी सहकार्य सुदृढ गर्दै शिक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी योगदान दिने अपेक्षा गरिएको छ।