ढुंगाखानी तथा टिप्पर व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image

हेटौंडा/ मकवानपुर जिल्ला अन्तर्गत रहेका विभिन्न ढुंगाखानीहरूबाट सिमेन्ट फ्याक्ट्रीसम्म ढुंगा तथा कच्चा पदार्थ ढुवानी गर्ने क्रममा सवारी क्षमताभन्दा बढी ओसारपसार गर्ने तथा जोखिमपूर्ण तरिकाले ढुवानी गरिने जनगुनासोका आधारमा अन्तर्क्रिया कार्यक्रम गरिएको नायवउपरीक्षक श्यामु अर्यालले जनकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त पहलमा २०८१ साल चैत्र ३ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको अर्यालले  जानकारी दिनुभयो। कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख विश्व राज खड्काले गर्नु भएको उहाले जानकारी दिनुभयो ।

उक्त  कार्यक्रममा प्र.ना.उ. श्यामु अर्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्र.नि. केशव अधिकारीलगायत बिभिन्न कन्स्ट्रक्शनका सञ्चालकहरू कृष्ण कार्की, सुमन बिष्ट, नवराज खतिवडा, उदय बिडारी तथा टिप्पर व्यवसायी र चालकहरूको समेत उपस्थिति रहेको जानकारी दिनुभयो।

कार्यक्रमको मुख्य उद्देश्य ढुंगा र कच्चा पदार्थ ढुवानी गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित तथा व्यवस्थित तरिकाले ढुवानी सुनिश्चित गर्नु रहेको उहाले जानकारी दिनुभयो। छलफलको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने समस्याहरूको पहिचान गरी समाधानका उपायहरूमा गहन छलफल गरिएको साथै, टिप्पर व्यवसायी र चालकहरूलाई ट्राफिक नियमको पालनामा ध्यान दिन आग्रह गर्दै सुरक्षित ढुवानीका उपायहरू अवलम्बन गर्न प्रेरित गरिएको बताउनुभयो।

कार्यक्रममा सहभागीहरूले समस्याहरूलाई समाधान गर्न आपसी समझदारी र सहकार्यको खाँचो रहेको भन्दै यसप्रकारका अन्तर्क्रिया कार्यक्रमहरू निरन्तर गरिरहनुपर्नेमा जोड दिएको अर्यालले जानकारी दिनुभयो।