हेटौंडा / मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङ्गलाई विजुली कार्यक्रम अन्तर्गत पूर्ण वडा विद्युतीकरण घोषणा तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम राक्सिराङ गाउँपालिका वडा नं. ९, खैराङ डन्टार वडा कार्यालयमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रम राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। विद्युतीकरण उद्घाटन खैराङमा ७० वर्षकी तिलकुमारी प्रजाको घरमा प्रमुख अथिति साथै गाउँपालिका अध्यक्ष मल्लले सुइच अन गरि उत्घाटन गर्नुभएको हो। दुर्गम बस्तीहरू आजदेखि विद्युत् सेवा पहुँचमा आएपछि स्थानीयवासी हर्षित भएका छन्।

प्रमुख अतिथि कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताउनुभएको छ। उहाले आफ्नो मात्रै नभई सरकारको पहलबाट यो सम्भव भएको बताउनुभएको छ। साथै, उहाले विद्युत प्राधिकरणमा आफू नियुक्त भएपछि गाउँ-गाउँमा विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य भएको उल्लेख गर्नुभयो।

उहाले ग्रामीण भेगमा विद्युत सेवा विस्तारले जनताको जीवनस्तर सुधार्ने विश्वास व्यक्त गर्दै, शिक्षाको उज्यालो पनि महत्वपूर्ण रहेको बताउनुभयो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार, राक्सिराङको ९ नम्बर वडामा विद्युत पुर्याइएको छ। तर अझै १५ सय भन्दा धेरै घरधुरीमा बीजुली पुर्याउन बाँकी रहेको र यस्लाई निरन्तरता दिदै राक्सिराङ्ग गाउँपालिकाको बिकासमा निरन्तर लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा मिटर किन्न नसक्नेहरू लाई मिटर बक्स बितरण साथै जेष्ठ नागरिकलाई समान गरिएको थियो।
कार्यक्रममा संविधानसभा सदस्य गोविन्द राम चेपाङ, पूर्व प्रदेश सभा सदस्य ओम ग्लान, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, पूर्व मन्त्री एवं वागमती प्रदेश सभा सदस्य सन्त बहादुर चेपाङलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपाल विद्युत प्राधिकरण हेटौंडा डिभिजनका प्रमुख शाम्री भुषण साह, राक्सिराङ गाउँपालिका सदस्य वन्द्रमान प्रजा, प्राधिकरणका प्रतिनिधि खिलनाथ अपील, नेपाली कांग्रेसका सभापति विरेन्द्र जिम्या तथा अन्य स्थानीय नेताहरू र समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।















