महिला मैत्री शहर निर्माणका लागि हेटौंडा उपमहानगरपालिकामा कार्य प्रारम्भ

Image

हेटौंडा/ देशभरका २९३ नगरपालिका मध्यबाट महिला मैत्री शहर निर्माणका लागि छनोटमा परेको हेटौंडा उपमहानगरपालिकामा औपचारिक रूपमा काम सुरु हुने भएको छ। यस योजनाको शुभारम्भको अवसरमा हेटौंडामा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी तथा उपमहानगरका विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

नगर प्रमुख लामाले महिला मैत्री शहर निर्माणका लागि सुरक्षासँग सम्बन्धित पूर्वाधार सुधार, नीति निर्माण, र महिलामैत्री सेवा तथा सुविधा विस्तारमा विशेष ध्यान दिइने बताउनुभयो। उहाले हेटौंडा उपमहानगरपालिकालाई देशकै एक नमुना महिला मैत्री शहरका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा महिला सुरक्षा, आर्थिक सशक्तीकरण, पहुँचयुक्त यातायात, तथा लैंगिक समानताको विषयमा छलफल गरियो। सरोकारवालाहरूले यो परियोजनाले महिला र बालिकाहरूको लागि सुरक्षित वातावरण सिर्जना गर्नेमा विश्वास व्यक्त गरे।

औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढ्ने जनाइएको छ। यो पहलले हेटौंडालाई मात्रै नभई अन्य नगरपालिकाहरूलाई पनि महिला अनुकूल योजना लागू गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।