हेटौंडा/ नेपाल पत्रकार महासंघ मकवानपुरले ७० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको स्वास्थ्य जाँच शिविरमा ५१ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको समन्वयमा मकवानपुर जिल्ला शाखाले आयोजना गरेको उक्त शिविरमा नसर्ने रोगसम्बन्धी परीक्षण तथा स्वास्थ्य प्रवर्धनका विविध सेवा प्रदान गरियो। हेटौंडा–४ स्थित महासंघको कार्यालय परिसरमा सञ्चालित शिविरमा सञ्चारकर्मीहरू तथा उनीहरूका परिवारका सदस्यहरूले सहभागी भई स्वास्थ्य जाँच गराएका थिए।
शिविरमा बडी मास इन्डेक्स (BMI), मधुमेह, रक्तचाप, मृगौला परीक्षणका साथै महिलाहरूको पाठेघरको मुखसम्बन्धी परीक्षणसमेत गरिएको थियो। जनस्वास्थ्य कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य शाखाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
यसअघि चैत्र १७ गते नै शिविर आयोजना गर्ने तय गरिएको भए पनि सो दिन राजावादी आन्दोलनको क्रममा पत्रकार सुरेश रजकको निधन भएपछि कार्यक्रम स्थगित गरिएको थियो। पत्रकार रजकको मृत्यु प्रकरणमा छानबिन समिति गठनको माग गर्दै महासंघ निरन्तर आन्दोलनरत रहेको छ।
















