हेटौंडा/ मकवानपुरको हेटौंडा अस्पतालको साइनबोर्डमा रहेको “मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान” नाम मेटिएको विषयले स्थानीय स्तरमा ठूलो तनाव सिर्जना गरेको छ। युवाहरूको एक समूहले अस्पतालको साइनबोर्ड केरमेट गरेपछि यस घटनाले सामाजिक र राजनीतिक बहसलाई थप तातेको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सार्वजनिक विज्ञप्तिमार्फत उक्त घटनाको कडा भर्त्सना गरेको छ। प्रतिष्ठानले दोषी पहिचान गरी तुरुन्त छानबिन र कानुनी कारबाही गर्न माग गर्दै, सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ।
तर स्थानीय नागरिकहरूका अनुसार, यो घटना केवल साइनबोर्डमा सीमित छैन। उनीहरूको भनाइमा यो पछिल्लो केही वर्षदेखि चलिरहेको एक गहिरो विवादको परिणाम हो। प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानमा विलय गर्ने निर्णय गरेदेखि नै स्थानीय स्तरमा असहमति चुलिँदै आएको छ।
“हेटौंडा अस्पताल बचाउ अभियान”अन्तर्गत ४ हजार स्थानीयवासीले हस्ताक्षर संकलन गरिसकेको छ भने हेटौंडा अस्पताल बचाउ अभियान समितिले जुलुस, र विरोध प्रदर्शनमार्फत आफ्नो असहमति जनाइसकेका छन्। उनीहरूको आरोप छ— प्रदेश सरकारले जनताको भावना र स्थानीय आवश्यकता बेवास्ता गर्दै अस्पतालको पहिचान मेटाउने कदम चालेको छ। 
साइनबोर्ड केरमेट गर्ने घटनापछि स्थानीय आक्रोश अझ चुलिएको छ। सामाजिक सञ्जालदेखि सडकसम्म फैलिएको आन्दोलनले आगामी दिनहरूमा अझ तीव्र रूप लिन सक्ने संकेत देखिएको छ। स्थानीय जनप्रतिनिधिहरूदेखि आम नागरिकसम्मको माग स्पष्ट छ— हेटौंडा अस्पतालको स्वतन्त्र अस्तित्व जोगाइयोस्।
सरकारले स्थानीयको मागलाई कसरी सम्बोधन गर्छ भन्नेमा अब सबैको ध्यान केन्द्रित भएको छ।
















