हेटौंडा/ ६६ वर्ष पुरानो हेटौंडा अस्पतालको ऐतिहासिक अस्तित्व मेटाउँदै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको विषयमा मकवानपुर जिल्लाका राजनीतिक र सामाजिक संगठनहरूले कडा विरोध जनाएका छन्।
बागमती प्रदेश सरकारले २०७६ सालमा पारित गरेको निर्णयले अस्पतालको पहिचान समाप्त पार्ने र त्यसलाई प्रतिष्ठानमा विलय गर्ने व्यवस्था गरेपछि स्थानीय नागरिक, राजनीतिक दलका संगठनहरू, र विद्यार्थी युवाहरूको संयुक्त आन्दोलन अघि बढेको छ।
“हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान” अन्तर्गत २०८१ चैत ३१ गते प्रतिष्ठानको ब्यानर हटाई हेटौंडा अस्पतालको ब्यानर पुनः राखिएको जनताप्रति प्रतिबद्धताको प्रतीक हो भन्दै आन्दोलनकारीहरूले त्यस कदमको समर्थन जनाएका छन्।
तर सो कार्यको विरोधमा नेकपा एमाले निकट युवा तथा विद्यार्थी संगठनहरूले सार्वजनिक गरेका विज्ञप्तिलाई ‘धम्कीपूर्ण’, ‘बौद्धिक दुरुपयोगयुक्त’ र ‘अप्रजातान्त्रिक’ भन्दै संयुक्त संगठनहरूले आलोचना गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रतिष्ठानको ऐनमा त्यस संस्थालाई व्यक्तिसरह सम्पत्ति किनबेच गर्न सकिने उल्लेख छ, जसले गैरसरकारी चरित्र देखाउँछ। यस्तो संस्थालाई हेटौंडा अस्पतालजस्तो ऐतिहासिक र जनताको भरोसाको केन्द्रमा जबर्जस्ती थोपर्नु अन्याय हो।”
आन्दोलनकारीहरूले समस्या समाधान संवाद र छलफलबाट खोजिनु पर्नेमा प्रशासनिक बल, दम्भ र राजनीतिक दवावको प्रयोगप्रति असन्तुष्टि जनाएका छन्।
प्रेस विज्ञप्तिमा सात वटा राजनीतिक दलका युवा र विद्यार्थी संगठनका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ, जसमा अखिल (समाजवादी), समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), युवा संघ नेपाल, युवा संगठन नेपाल, RAT मकवानपुर, नेपाल तरुण बल, र समाजवादी युवा संघका नेताहरू सामेल छन्।
















