हेटौंडा / मकै उत्पादन प्रवर्द्धनका लागि मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहलाई हाते ट्याक्टर, मकैको बीउ र विद्युतीय घट्ट मिल वितरण गरेको छ।
गाउँपालिकाले सञ्चालन गरेको मकैवाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कैलाश–३ स्थित अम्बाटार कृषक समूहलाई ४ थान हाते ट्याक्टर, ३० किलो मकैको बीउ र २ थान विद्युतीय घट्ट मिल हस्तान्तरण गरिएको हो। गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले बिहीबार संयुक्त रूपमा सामग्री हस्तान्तरण गरे।
समूहका अध्यक्ष विश्व विक्रम मल्लका अनुसार, प्राप्त सामग्रीले उत्पादनमा वृद्धि र कृषिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
कृषि तथा पशु विकास शाखाका अनुसार, उक्त योजना कुल ४ लाख लागतमा सम्पन्न भएको हो। जसमध्ये २ लाख गाउँपालिकाको अनुदान र २ लाख कृषकको सहभागिताबाट व्यहोरो गरिएको हो। प्राविधिक सन्दीप कुशहवाका अनुसार, वितरण गरिएका ट्याक्टरहरू सात एचपी क्षमताको मिनी टिलर हुन्।
हस्तान्तरण कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन , प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि शाखाका प्राविधिक तथा स्थानीय कृषकहरूको उपस्थिति थियो।















