गौरिशिखर टोलको रूपान्तरण सुरू : २५ लाखको स्ल्याब ढलान कार्य अध्यक्ष मुक्तानद्वारा उद्घाटन

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ अन्तर्गत गौरिशिखर टोलमा २५ लाख रुपैयाँको लागतमा स्ल्याब ढलान कार्य सुरु गरिएको छ। लामो समयदेखि अव्यवस्थित रहेको सडक अब व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ।

पुडासैनीको घरदेखि टुकुली चोक हुँदै चक्रपथसम्मको सडकमा हुने उक्त ढलान कार्य शहरी विकास कार्यक्रम अन्तर्गत सञ्चालन हुँदैछ। योजनाको शिलान्यास वडा नं. १५ का अध्यक्ष सुनिल मुक्तानको प्रमुख आतिथ्यतामा गरिएको हो।

अध्यक्ष मुक्तानका सचिवालय मनोज परियारका अनुसार, अध्यक्ष मुक्तानकै सक्रिय पहलमा बजेट विनियोजन भई योजना कार्यान्वयनको चरणमा पुगेको हो।
स्थानीयवासीहरूले वर्षौंदेखि अव्यवस्थित सडकको कारण सास्ती भोग्दै आएका थिए। ढलान कार्यपछि टोलको मुहार फेरिने विश्वास गरिएको छ।

कार्यक्रममा अध्यक्ष मुक्तानले गौरिशिखर टोललाई व्यवस्थित र आधुनिक बनाउने अभियान अन्तर्गत अन्य पूर्वाधार विकास योजनाहरू पनि क्रमिक रूपमा अघि बढाइने बताउनुभएको छ।