हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमप्रति आफ्नो अटल सम्मान रहेको स्पष्ट पारेको छ। उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै हालै सार्वजनिक भएका केही अभिव्यक्तिलाई गलत अर्थ नलगाउन आग्रह गर्नुभएको छ।
प्रमुख लामाले फेसबुकमा लेख्दै भन्नुभएको छ, “मिति २०८२/०१/०४ मा प्रकाशित विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान र सञ्चारमाध्यमप्रति आदरभाव प्रकट गरिएको स्पष्ट रूपमा उल्लेख छ। उपमहानगरपालिका यिनै दृष्टिकोणमा अटल रहेको छ।”
उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “हालैका मेरा अभिव्यक्तिहरू कुनै अपमानजन्य मनसायले नभई, परिस्थितिजन्य प्रतिक्रिया स्वरूप आएका थिए। मेरो उद्देश्य सञ्चार क्षेत्रलाई चोट पुर्याउनु कदापि थिएन।”
नगरप्रमुख लामाले आगामी दिनहरूमा पनि प्रेस र उपमहानगरपालिकाबीचको सहकार्य र सम्बन्ध विगतझैं प्रगाढ रहिरहने विश्वास व्यक्त गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई सकारात्मक रूपमा बुझिदिन अनुरोध गर्नुभएको छ।