हेटौंडा/ हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले हेटौंडा अस्पतालको नाममा रहेको सरकारी जमिन पुनः अतिक्रमणमा परेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। अभियानले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख स्किम श्रेष्ठ र बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई खुला पत्र बुझाउँदै यथाशीघ्र कारवाहीको माग गरेको हो।
हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा अवस्थित बागमती प्रदेशको राजधानी हेटौंडास्थित उक्त अस्पतालको करिब चार बिघा क्षेत्रफल बराबरको कित्ता नं. १९९, ३९७ र ४०० मा रहेको सरकारी जमिनमा पछिल्लो समय गैरकानुनी रूपमा संरचना निर्माण, कागजी किनबेच तथा घेराबारजस्ता गतिविधि भइरहेको भन्दै अभियानले गम्भीर आपत्ति जनाएको छ।
अभियानका संयोजक विशालराज महतद्वारा हस्ताक्षरित पत्रमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको समन्वयमा भएका अघिल्ला नापजाँच र अतिक्रमण हटाउने प्रयासहरूको स्मरण गरिँदै, अहिले पुनः त्यही जमिनमा अवैध क्रियाकलाप हुनु अत्यन्त आपत्तिजनक, गैरकानुनी र अस्वीकार्य भएको उल्लेख छ।
“राज्य सरकारभन्दा माथि कोही हुँदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ,” पत्रमा भनिएको छ, “तर केही व्यक्तिहरू सरकारी छाप, निशान र धनीपुर्जालाई बेवास्ता गर्दै आफूलाई कानुनभन्दा माथि देखाउन खोजिरहेका छन्, जुन प्रवृत्ति खतरनाक छ।”
पत्रमा स्थानीय प्रशासन ऐनअनुसार सरकारी सम्पत्ति संरक्षणको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको रहेको स्मरण गराउँदै, कानुनी प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ।
साथै, अभियानले सो जग्गालाई सार्वजनिक उपयोगमा ल्याउन माग गर्दै रेडक्रस भवन, बिरामी कुरुवाका लागि आश्रयस्थल, सवारी पार्किङ, स्वास्थ्य निर्देशनालय, र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संरचना निर्माण गर्न सुझाव दिएको छ।
यसबीच, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले वडाध्यक्ष सबिन न्यौपानेलाई आफ्नो क्षेत्रभित्रका अवैध संरचना निर्माण कार्य तत्काल रोक्न र हटाउन निर्देशन दिएका छन्। खुला पत्र बुझाउने टोलीमा अभियानका संयोजक महतसहित अभियन्ता प्रकाश पौडेल, रामसरण कार्की, सफल अधिकारी र नेपाली कांग्रेस नगर अध्यक्ष उत्सब इटिनी सहभागी थिए।