चेपाङ महिलाहरूको सशक्तीकरणतर्फ कदम: हेटौंडामा सिलाइ कटाइ तालिम सम्पन्न, मेसिन वितरण

Image

हेटौंडा/ महिला सशक्तीकरण र मानव बेचबिखनविरुद्धको अभियानलाई मजबुत पार्ने उद्देश्यले सञ्चालन गरिएको “आधारभूत सिलाइ तथा कटाइ तालिम” हेटौंडा–४ स्थित नारी संरक्षण केन्द्रको सभाहलमा सम्पन्न भएको छ। तालिमको समापन समारोहमा मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९, बिगट गाउँका ८ जना चेपाङ महिलाहरूलाई सिलाइ मेसिन र प्रमाणपत्र वितरण गरिएको थियो।

नारी संरक्षण केन्द्रको आयोजनामा, WPC नेपाल, फ्रेण्डस अफ WPC नेपाल र हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को सहयोगमा सञ्चालित उक्त तालिमले सहभागी महिलाहरूको आत्मनिर्भरता र स्वरोजगारमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिक्वेलको प्रमुख आतिथ्यता तथा नारी संरक्षण केन्द्रकी अध्यक्ष दिपा गुरुङ्गको अध्यक्षतामा मेसिन र प्रमाणपत्र हस्तानतरण गरिएको हो। प्रमुख अथिति सिक्देलले महिलाहरूको सीप विकासका यस्ता कार्यक्रमहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“सीप सिकेर अब आफ्नै गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास आएको छ,” सहभागी सोम कुमारी प्रजाले बताईन । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ की सदस्य गीता त्रिपाठी, गै.स.स. महासंघ नेपालकी अध्यक्ष रमिला सापकोटा,हिमाराईडस मकवानपुरकी संयोजक कुमारी वाईवा,हिरव्य नेपालकी संयोजक एलिना ढुंगानाको उपस्थिति रहेको समापन समारोहले सशक्तीकरणको महत्वपूर्ण सन्देश दिएको छ।

आयोजक संस्थाकी अध्यक्षले यस्तो तालिम जोखिममा रहेका महिलाहरूलाई व्यवहारिक सीप प्रदान गर्दै आर्थिक रूपमा सबल बनाउने दीर्घकालीन लक्ष्य बोकेको बताउनुभयो।