हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–९ कालिमाटीमा एक घरेलु विवादले एक महिलाको जीवन सङ्घर्षमा धकेलेको छ। घरायसी झगडा र मानसिक तनावका बीच ४५ वर्षीया कान्छिमाया न्यासुरले विष सेवन गरेपछि उनी अहिले चुरेहिल अस्पतालको आईसीयूमा अचेत अवस्थामा छिन्।
शनिबार राति करिब १२ बजे परिवारको झगडा चरममा पुगेपछि कान्छिमायाले मकैमा प्रयोग हुने विषादी सेवन गरेकी थिइन्। उनीलाई तत्काल हेटौंडा अस्पताल ल्याइए पनि अवस्था गम्भीर देखिएपछि चुरेहिल अस्पतालमा रिफर गरिएको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार, हाल उनको अवस्था चिन्ताजनक छ।
कान्छिमायाको छोरी उर्मिला न्यासुरका अनुसार, झगडाका बेला उनका बुबा अष्ट बहादुर न्यासुरले आमालाई कुटपिट गरेका थिए। मानसिक र शारीरिक पीडाबाट थिचिएकी कान्छिमायाले आत्महत्या प्रयास गरेकी हुन सक्ने अनुमान गरिएको छ।
अहिले अष्ट बहादुर न्यासुर फरार रहेका छन् भने प्रहरीले उनको खोजी तथा घटनाको थप अनुसन्धान गरिरहेको छ।















