हेटौंडा / समाजमा सकारात्मक परिवर्तनको अभ्यास अब कक्षा कोठाभित्रै सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–९ स्थित प्रगति माध्यमिक विद्यालयमा आयोजित ‘असल समाज निर्माणमा विद्यार्थीको भूमिका’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रमले यही संकेत दिएको छ।
सामुदायिक विकास संस्था नेपाल, मकवानपुरको पहल र हेटौंडा उपमहानगरपालिकाको आर्थिक साझेदारीमा सञ्चालन भएको कार्यक्रममा कक्षा १० का ५५ जना विद्यार्थीलाई सामाजिक मूल्य, प्रविधिको सही प्रयोग र जिम्मेवार नागरिक बन्ने विषयमा व्यवहारिक ज्ञान दिइयो।
कार्यक्रममा प्रशिक्षक आशिष दुलालले समाजमा मौलाउँदै गएको विभेद, विकृति र प्रविधिको दुरुपयोगबारे चेतना दिलाउँदै सामाजिक सजगता र सुरक्षा सम्बन्धी सन्देश दिनुभयो। अनन्त बानियाँले समाजमा सुव्यवस्था कायम गर्न बनेका कानुनी संरचना र त्यसको पालना गर्ने संस्कारबारे छलफल गराउनु भयो।
विद्यालयमा आयोजित यस्ता कार्यक्रमले विद्यार्थीकै माध्यमबाट समाजमा सचेतना फैलाउने उद्देश्य राखेको आयोजक संस्थाकी कार्यकारी निर्देशक तथा गैसस महासंघकी अध्यक्ष रमिला सापकोटाले बताउनुभयो। उहाका अनुसार, कार्यक्रम श्रृंखलाको रुपमा हेटौंडा–४ को आधुनिक माविमा दुई दिन र आज प्रगति माविमा एक दिन सम्पन्न भएको छ। अब आगामी चरण हेटौंडा–१६ स्थित ज्योति मावि र १७ स्थित बालबोध माविमा सञ्चालन हुनेछ।
कार्यक्रमले विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सामाजिक उत्तरदायित्वबारे पनि तयार पार्न खोजेको देखिन्छ। उपमहानगरपालिकाको सहकार्यमा यस्तो प्रयासले दीर्घकालीन सामाजिक परिवर्तनको जग बसाल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने, प्रधानाध्यापक किशोर पराजुली, हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाका बाल सहजकर्ता आशिष खतिवडालगायतको उपस्थिति रहेको थियो।


















