हेटौंडा काठमाडौं वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह: बगुवामा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

Image

हेटौंडा/ लगातारको अविरल वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्ति लोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएका छन्। बगुवामा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो पानीको बहावले बगाउँदा मुख्य सडक अबरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार अहिले सडक खुलाउने प्रयास भइरहेको छ। तर लगातारको वर्षाले कठिनाइ उत्पन्न गराएको छ। “पानी नरोकी सडक खुलाउन सकिने अवस्था छैन,” उहाँले भन्नुभयो, “त्यसैले सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ।”

सडक अबरुद्ध भएपछि बागमती प्रदेशका विभिन्न जिल्लासँग आवतजावत गर्ने सवारी साधनहरू बिच बाटोमै रोकिएका छन्। यात्रुहरू लामो समयसम्म बस र गाडीमा रोकिएर बस्न बाध्य भएका छन् भने कतिपय पैदल हिँडेर वैकल्पिक मार्गतर्फ लागिरहेका छन्।

स्थानीयवासीका अनुसार पहिल्यै कमजोर संरचना भएको उक्त भागमा मर्मतको अभावले समस्या झन गहिरिएको हो। “यो खण्डमा हरेक वर्ष पानी परेपछि यस्तै समस्या हुने गर्छ,” एक स्थानीयले भने, “तर स्थायी समाधानतर्फ ध्यान नदिई अस्थायी टालटुल गरिँदै आएको छ।”

प्रशासनले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई अर्को सूचना नभएसम्म यात्रा नगर्न अनुरोध गरेको छ।