हेटौंडा १६ आकाशधारामा बृहत् शक्ति खानेपानी आयोजना उत्घाटन

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१६, आकाशधारा क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरी सञ्चालन गरिएको बृहत् शक्ति खानेपानी आयोजना (Scheme–२) अन्तर्गतको योजना सम्पन्न गरिएको छ।

करीब रु. ४ करोड ५० लाखको लागतमा सम्पन्न उक्त योजनाबाट १७५ घरधुरीलाई खानेपानी आपूर्ति गर्न सफल हुने हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले बताउनुभयो। यस अवसरमा आयोजित उद्घाटन कार्यक्रम नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

अध्यक्ष कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिका रूपमा संघीय सांसद दीपक बहादुर सिंह, प्रदेश सांसद माननीय प्रेम बहादुर पुलामी, नगर प्रमुख मिना लामा , खानेपानी मन्त्रालयका सचिव, महानिर्देशक, प्रदेश सचिव, प्रमुख जिल्ला अधिकारी, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष, जिल्ला प्रहरी प्रमुख, आयोजना प्रमुख, वडा स्तरका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खानेपानी सेवा विस्तारले वडावासीहरूको जीवनस्तरमा महत्वपूर्ण सुधार ल्याउने विश्वास कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा अध्यक्ष कोइरालाले आयोजनाको सफल कार्यान्वयनमा सहयोग गर्ने सबै सरोकारवालाप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्न वडा कार्यालय प्रतिबद्ध रहने जनाउनुभयो।