हेटौंडामा बहुपक्षीय सहकार्यमा सुर्तिजन्य पदार्थ विरुद्धको सशक्त सन्देश : युवाको सक्रिय सहभागिता उल्लेखनीय

Image

हेटौंडा/  सुर्तिजन्य पदार्थ विरुद्ध जनचेतना फैलाउन हेटौंडामा विविध सामाजिक संस्था र सरकारी निकायबीचको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भएको छ। विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसर पारेर आयोजित यस कार्यक्रममा युवाहरूको उल्लेखनीय सहभागिता रहनु कार्यक्रमको मुख्य विशेषता बन्यो।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको समन्वयमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल हृदय रोग निवारण प्रतिष्ठान, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान), नेपाल स्वयंसेवी रक्तदाता समाज नगर समिति, एम्नेष्टि इन्टरनेशनल नेपाल समूह ६७, रोटरी क्लब अफ हेटौंडा तथा रोटरी क्लब अफ मकवानपुरले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए।

कार्यक्रम अन्तर्गत युवाद्वारा प्रस्तुत सडक नाटक,सन्देशमूलक गीत, तथा पम्प्लेट र स्टिकर वितरण जस्ता गतिविधिहरूले आम जनमानसमा सकारात्मक प्रभाव पारेको सहभागीहरूले बताएका छन्।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. दिनेश कुमार लम्सालले युवाहरूलाई लक्षित गरी सुर्तिजन्य पदार्थबाट टाढा रहन गम्भीर चेतना फैलाउनु अत्यावश्यक रहेको बताए। कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले सुर्तिजन्य पदार्थ सेवनले सिर्जना गर्ने दीर्घकालीन स्वास्थ्य समस्या—विशेषतः क्यान्सर र हृदयघात—बारे जानकारी गराउँदै रोकथाममा समुदायको भूमिकामाथि जोड दिएका थिए।

नेपाल अर्बुद रोग निवारण संस्थाका उपमहासचिव प्रकाश खतिवडाले नेपालमा यो दिवस मनाउन थालिएको इतिहासबारे जानकारी दिँदै भने, “सरकार र नागरिक समाजको सहकार्यमा मात्र यस्तो महामारीजन्य अभ्यासको अन्त्य सम्भव छ।”

कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। प्रतिष्ठानका विद्यार्थीहरूले टोलटोलमा गएर पम्प्लेट वितरण, स्टिकर टाँस्ने कार्य मात्र होइन, जनमानसमा चेतना फैलाउने सन्देशमूलक नाटक र गीतमार्फत गम्भीर विषयलाई सरल ढंगले प्रस्तुत गरेका थिए।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष विजयकुमार बैद्यले भने, “सुर्तिजन्य पदार्थले केवल क्यान्सर मात्र होइन, हृदयसम्बन्धी गम्भीर समस्या पनि निम्त्याउने भएकाले सचेत रहन आवश्यक छ।”

कार्यक्रमले समुदायमा सुर्तिजन्य पदार्थ विरुद्धको अभियानलाई बल पुर्‍याउनुका साथै सामाजिक सहकार्य र युवाको शक्ति कत्तिको प्रभावकारी हुन सक्छ भन्ने सन्देश पनि दिएको छ।