हेटौंडा/ ‘एक विद्यालय, एक कम्प्युटर सहित प्रिन्टर वितरण कार्यक्रम’ अन्तर्गत राक्सिराङ गाउँपालिकाभित्र सञ्चालित विभिन्न विद्यालयलाई ल्यापटप र प्रिन्टर वितरण गरिएको छ।
सो कार्यक्रम राक्सिराङ गाउँपालिका प्रमुख पदम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। वितरण कार्यक्रममा गाउँपालिकाका अन्य जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा स्थानीयबासीको उपस्थिति रहेको थियो।
गाउँपालिकाले शैक्षिक क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले प्रत्येक विद्यालयमा कम्तीमा एकवटा कम्प्युटर र प्रिन्टर उपलब्ध गराउने योजना अनुरूप उपकरणहरू वितरण गरिएको जनाएको छ।
गाउँपालिका प्रमुख बस्नेतले प्रविधिसँग जोडिएर शिक्षामा गुणस्तर वृद्धिको अपेक्षा गरिएको उल्लेख गर्दै भविष्यमा अझ व्यापक रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रमबाट विद्यार्थीहरूलाई डिजिटल शिक्षण प्रणालीसँग परिचित गराउने र शिक्षकहरूलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
















