हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. १५ अन्तर्गत सृजनशील टोल विकास संस्थाको समन्वयमा स्कुल रोडस्थित मुख्य बाटोको स्ल्याब ढलान कार्य औपचारिक रूपमा सुरु गरिएको छ। करिब बीस लाख रुपैयाँ (रु २०,००,०००/-) लागतमा निर्माण हुन लागेको उक्त कार्यको शिलान्यास नगर प्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुनिल मोक्तानको बिशिष्ट आथित्यतामा सम्पन्न भएको अध्यक्ष मुक्तानको सचिवालय मनोज परियारले जानकारी दिनुभयो।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष बिकाका धरोहर तथा स्थानीय नेतृत्वकर्ता सुनिल मोक्तानको विशेष पहल र सक्रियतामा यो आयोजनाको सुरुवात गरिएको परियारले बताउनुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, टोल विकास संस्था, युवा समूह तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको उहाले जानकारी दिनुभयो।
स्ल्याब ढलानको यो कार्यले स्कुल रोड क्षेत्रका बासिन्दाहरूलाई वर्षौंदेखिको हिलो र धुलोको समस्याबाट मुक्ति दिलाउने र नियमित रुपमा पानी जम्ने, आवागमनमा कठिनाइ हुने साथै स्थानीय विद्यालय जाने विद्यार्थीहरूलाई असर पर्ने अवस्थाबाट अब राहत मिल्नेछ अध्यक्ष मुक्तानले भन्नु भयो।
नगर प्रमुख मिना लामाले शिलान्यास कार्यक्रममा बोल्दै विकासका कामहरू जनताको प्रत्यक्ष सहभागिता र प्रतिनिधिहरूको दृढ इच्छाशक्तिका कारण सम्भव हुने बताउँदै आगामी दिनमा पनि वडा नं. १५ लाई पूर्वाधार सम्पन्न र व्यवस्थित बनाउने कार्यमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष मोक्तानले आफ्नो पहलमा सञ्चालनमा आएको यो आयोजनाले वडामा सुशासन, समन्वय र पारदर्शिताका साथ विकास निर्माण कार्यहरू अघि बढिरहेको बताउनुभयो।
















