राक्सिराङमा बेमौसमी खेती प्रवर्द्धन : ८० प्रतिशत अनुदानमा किसानलाई टनेल प्लास्टिक वितरण

Image

हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकाले कृषकहरूको आम्दानी वृद्धि तथा बेमौसमी तरकारी उत्पादनमा वृद्धि गर्ने उद्देश्यले ‘बेमौसमी खेती प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत किसानहरूलाई ८० प्रतिशत अनुदानमा टनेल प्लास्टिक वितरण गरेको छ।

उक्त वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, उपाध्यक्ष बनस्तम थिङ्ग, कृषि शाखा प्रमुख तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष  मल्लले  टनेल प्लास्टिक वितरण गरेर कृषकहरूलाई बेमौसमी तरकारी खेतीतर्फ आकर्षित गराउने र तिनको उत्पादन तथा आम्दानीमा वृद्धि ल्याउने लक्ष्य लिइएको बताउनुभयो। उहाले भन्नु भयो, “बेमौसमी उत्पादनले बजारमा सधैं माग हुने तरकारीको आपूर्ति गर्न सकिने भएकाले स्थानीय किसानको आर्थिक उन्नतिमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौं।”

कार्यक्रममा सहभागी किसानहरूले समेत यस्तो कार्यक्रमले उनीहरूको कृषि कार्यमा थप उत्साह र स्थायित्व ल्याउने प्रतिक्रिया दिएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि कृषि क्षेत्रमा अनुदान तथा प्रविधिमैत्री कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन र कृषि व्यवसायमा आधुनिकीकरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको यस किसिमको कार्यक्रमले गाउँपालिकाभित्र आत्मनिर्भरबनाउने अध्यक्ष  मल्लले बताउनुभयो।