लोकतन्त्रमाथि प्रहार : हेटौंडा उपमहानगरपालिका १ वडा अध्यक्षमाथिको आक्रमणप्रति सात प्रमुख दलको संयुक्त विरोध

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कार्यपालिका प्रवक्ता श्री सविन न्यौपानेमाथि कार्यकक्षमै भएको सांघातिक आक्रमणप्रति मकवानपुर जिल्लामा क्रियाशील सात प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा कडा आपत्ति जनाएका छन्।

२०८२ असार ४ गते अज्ञात समूहले कार्यकक्षमै प्रवेश गरी वडा अध्यक्ष न्यौपानेमाथि गरेको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै प्रहार भएको भन्दै उनीहरूले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

“समस्याको समाधान भौतिक आक्रमण होइन, संवाद र समझदारी नै लोकतन्त्रको बाटो हो,” प्रेस विज्ञप्तिमा भनिएको छ, “जनप्रतिनिधिमाथि भएको अमर्यादित व्यवहारप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं।”
दलहरूले यस्ता अराजक गतिविधि दोहोरिन नदिन जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई दोषी पहिचान गरी कडा कारबाही गर्न जोडदार माग गरेका छन्।

संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्ने सात दलहरु

१. बुद्ध लामा – नेपाली कांग्रेस, सभापति, मकवानपुर
२. हिदम लामा – नेकपा एमाले, उपाध्यक्ष, मकवानपुर
३. भीम पाखिन – नेकपा माओवादी केन्द्र, मकवानपुर
४. सागर थापा – राप्रपा, कार्यवाहक अध्यक्ष, मकवानपुर
५. अस्मीता न्यौपाने – राष्ट्रिय स्वतन्त्र पार्टी, मकवानपुर
६. विष्णुप्रसाद दहाल – नेकपा एकीकृत समाजवादी, अध्यक्ष, मकवानपुर
७. गुरुप्रसाद सापकोटा – राप्रपा नेपाल, अध्यक्ष, मकवानपुर