हेटौंडामा BR नम्बरको भारतीय कारबाट २५ हजार बढी ट्रामाडोलसहित  तीन जना पक्राउ

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकप्वाइन्टमा प्रहरीले लागूऔषधसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आज बिहान करिब ६:०० बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा भारतको मोतीहारीबाट काठमाडौँतर्फ आउँदै गरेको BR 01 AW 1404 नम्बरको भारतीय कारलाई चेकजाँचका क्रममा रोक्दा शंका लागि खानतलासी गरिएको थियो।

कार चालक मोतीहारी, पंचमिडियाका २६ वर्षीय उपेन्द्र यादव, र सवार संजित कुमार यादव (२२ वर्ष) तथा सिकिन्दर महतो (३५ वर्ष) को शरीर र सवारीसाधन जाँच गर्दा कारको सिटमुनि र पछाडिको डिक्कीमा फल्स बटम बनाई लुकाइएका २५,४५५ थान Tramadol क्याप्सुल र १२० बोतल ONEREX-100ml बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र सवारीसाधनसहित तीनै जनालाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।