हेटौंडा / राक्सिराङ गाउँपालिकाले प्याचे–चैनपुर सडकखण्डमा अत्याधिक भार वहन गर्ने हेभी सवारी साधन (जस्तै ढुंगा–बालुवा बोक्ने ट्रिपर) मा पूर्ण रुपमा रोक लगाएको छ ।
गाउँपालिकाको अनुसार आँप खोल्ची पुल पहिरोका कारण अत्यन्त कमजोर भएको छ भने अन्य स्थानहरू संरचनागत रूपमा साँघुरा र जोखिमयुक्त छन् । सडकमा हेभी ट्रिपरहरूको चलहपहलले थप कम्पन, पहिरोको सम्भावना, पूर्वाधारको क्षति तथा जनधनको जोखिम बढ्ने देखिएकाले तत्काल रोक लगाइएको गाउँपालिकाले जारी गरेको अत्यन्तै जरुरी सूचनामा उल्लेख छ ।
राक्सिराङ् गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त निर्णयप्रति कडाइका साथ कार्यान्वयन गरिने भन्दै सूचनाको उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभएको छ ।
सडक सुरक्षाको हित, जनधनको रक्षा तथा पूर्वाधार र प्राकृतिक स्रोतको संरक्षणका लागि सबै सरोकारवालाको सहयोग अपेक्षा गरिएको छ । गाउँपालिकाले विकासका आधारस्तम्भहरू शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, पर्यावरण र पूर्वाधारलाई सुरक्षित र दिगो बनाउँदै अगाडि बढ्ने नीति लिएको जनाइएको छ ।

















