हेटौंडा / जलवायु परिवर्तनजस्तो जटिल विषयमा प्रभावकारी जनचेतना फैलाउन सञ्चारकर्मीको भूमिकालाई अझ सशक्त बनाउन हेटौंडामा एक दिवसीय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जलवायु परिवर्तनको बहुआयामिक प्रभाव र यसको न्यूनीकरणका उपायहरूमाथि गहन छलफल गरिएको थियो । 
कार्यक्रम उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिल्वालले जलवायु संकट गम्भीर मोडमा पुगेको बताउँदै सञ्चार माध्यमहरू यस विषयमा संवेदनशील र सूचनामूलक हुन जरुरी रहेको उल्लेख गरे । “आजको गर्मी हिजोको जस्तो सहज छैन, बर्खा कहिले आउँछ र कहिले बाढी बगाउँछ भन्ने पूर्वानुमान गर्नै नसकिने स्थिति बनेको छ,” मन्त्री सिल्वालले भने, “तर समाधान पनि छ—जैविक खेती, हरित यातायात र वन संरक्षणजस्ता विकल्प हामीसँग छन् ।”
मन्त्रालयका सचिव केदार बरालले नीति र योजनाका स्तरमा जलवायु परिवर्तन न्यूनीकरणका प्रयासहरूबारे प्रस्तुतीकरण गर्दै प्रदेशले गाउँगाउँमा जलवायु सचेतना फैलाउने कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।
कार्यक्रममा मन्त्रालय अन्तर्गतका विज्ञहरूले कार्बन वित्त, जलवायुजन्य प्रकोप र जोखिम विश्लेषणजस्ता विषयमा प्रस्तुती दिएका थिए । वन अधिकृत राधिका शर्माले बागमती प्रदेशमा बढ्दो जलवायुजन्य प्रकोपबारे आँकडासहित जानकारी दिइन् भने महासाखा प्रमुख शिब सापकोटाले कार्बन कारोबारका सम्भावनामाथि प्रष्ट पारे ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्णसारु मगर र मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले जलवायु सरोकारका विषयलाई सञ्चारको मुख्य धारमा ल्याउन पत्रकारहरू सचेत र सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमले जलवायु परिवर्तनजस्तो जटिल विषयमा सञ्चारकर्मीहरूलाई सूचनायुक्त र उत्तरदायी संवादमा संलग्न गराउने उद्देश्य लिएको आयोजकले जनाएको छ ।

















