बागमतीका १० जिल्लामा सीसीटीभी निगरानी प्रणाली सञ्चालनमा, सार्वजनिक सुरक्षामा प्रविधिको प्रभावकारी प्रयोग

Image

हेटौंडा / बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरज चन्द्र लामिछानेले मंगलबार हेटौंडामा आयोजित एक समारोहबीच प्रदेशका १० जिल्लामा जडान गरिएको प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को औपचारिक रूपमा उद्घाटन गरेका छन्। कुल २ करोड ८४ लाख ११ हजार ७३४ रुपैयाँ लागतमा स्थापना गरिएका १२० वटा क्यामेरा आजदेखि सञ्चालनमा आएका छन्।

मन्त्री लामिछानेले कार्यक्रममा प्रदेशमा अपराध नियन्त्रण र शान्ति सुरक्षाको प्रवर्द्धनमा सीसीटीभी प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “यसले प्रहरीलाई निगरानीमा सहजता मात्रै होइन, सार्वजनिक सुरक्षामा पनि गुणात्मक सुधार ल्याउनेछ,” उनले भने।

बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको हो। प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलका अनुसार प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा योजना कार्यान्वयन गरिएको हो।

प्रविधिमा आधारित सुरक्षा रणनीतिअनुसार ३८ वटा प्रहरी युनिटमार्फत प्रणालीको नियमित निगरानी हुने व्यवस्था मिलाइएको छ। चितवनको नारायणगढ, सिन्धुलीको भिमान र मकवानपुरको रातमाटे लगायतका संवेदनशील क्षेत्रमा अत्याधुनिक ‘बिएलएच क्यामेरा’ र ‘रडार प्रणाली’ समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए।

उनका अनुसार जडान गरिएका क्यामेराले कम्तीमा ९० दिनसम्मको डिजिटल डेटा सुरक्षित राख्न सक्ने क्षमता राख्छन्। साथै, विद्युत् अवरोध हुँदा प्रणाली अवरुद्ध नहोस् भनेर युपिएस (UPS) प्रणाली पनि जडान गरिएको छ।

प्रणाली स्थापना सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान गरी गरिएको हो। २०८२ साल जेठ १० गते सम्झौता भई असार मसान्तभित्र सम्पन्न गरिएको एसएसपी थापाले जानकारी दिए।

अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र समग्र सार्वजनिक सुरक्षामा प्रविधिको प्रयोगलाई सुदृढ बनाउने लक्ष्यसहित यो परियोजना सुरू गरिएको हो। बागमती प्रदेश सरकारले यसलाई सार्वजनिक सुरक्षामा प्रविधिको प्रभावकारी प्रयोगको महत्वपूर्ण कदमका रूपमा हेरेको छ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाई, प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट लगायतको उपस्थिति रहेको थियो।