हेटौंडा / बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार दिउँसो पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा छैठौं मुख्यमन्त्रीमा नियुक्त बानियाँले शपथग्रहणपछि हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
पदभार ग्रहण गर्दै उनले प्रदेशसभा बैठकले पारित गरेको असार २३ को सङ्कल्प प्रस्तावलाई आत्मसात् गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे। पदभार ग्रहणलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकसमेत सुरु भएको छ, जसमा सरकारको प्राथमिकता, नीति तथा कार्यक्रम कार्यान्वयनको खाका र आगामी कार्ययोजनाबारे प्रारम्भिक छलफल हुने जनाइएको छ।
सरकार सञ्चालनको गति दिन मुख्यमन्त्री बानियाँ पहिलो दिनदेखि नै सक्रिय देखिएका छन्। कांग्रेस र एमालेबीचको समझदारीअनुसार हालसम्म ८ मन्त्री नियुक्त भइसकेका छन्।
कांग्रेसतर्फबाट बानियाँसहित ३ जना मन्त्रिपरिषद्मा सहभागी छन्। कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीको जिम्मेवारी अझै तोकिएको छैन। कांग्रेसभित्रको आन्तरिक समन्वय टुंगो नलागेकाले बाँकी ५ मन्त्रालय अझै बाँकी छन्।
दोस्रो ठूलो घटक एमालेले भने ६ मन्त्रालयको जिम्मेवारीसहित मन्त्री पठाएको छ — मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), जयराम थापा (श्रम, रोजगार तथा यातायात), विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), किरण थापा (स्वास्थ्य) र भरत केसी (वन)।
१४ मन्त्रालय रहेको प्रदेश सरकारमा कांग्रेसले ७, एमालेले ६ मन्त्रालय लिने सहमति भइसकेको छ भने बाँकी एक मन्त्रालयको विषयमा निर्णय आउन बाँकी छ।
सत्ता सन्तुलन, मन्त्रालय बाँडफाँट र नेतृत्व छनोटको प्रक्रियाले देखाएको राजनीतिक गतिशीलताले बानियाँ नेतृत्वको सरकारको कार्यशैली, समन्वय र कार्यदिशाको प्रारम्भिक संकेत दिइसकेको छ।

















