हेटौंडा/ बागमती प्रदेश सरकारले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको छ। मंगलबार बसेको नवनियुक्त मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो।
बैठकले प्राकृतिक विपद्का सम्भावित जोखिमहरूलाई सम्बोधन गर्न सरकारी तथा गैर-सरकारी निकायहरूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो।
उहाँका अनुसार, उद्धार, राहत र प्रतिकार्यका लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरिएको छ। उक्त संयन्त्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक रहनेछन् भने सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरू सदस्य रहने व्यवस्था गरिएको छ।
संयन्त्रलाई सक्रिय र तयारी अवस्थामा राखी आवश्यक सामग्री तुरुन्त उपलब्ध गराउने, विपद्का कारण बासस्थान गुमाएका नागरिकलाई अस्थायी आवासको व्यवस्था गर्ने, र संघीय सरकार तथा स्थानीय तहको सहकार्यमा क्षतिग्रस्त सडकहरूको तत्काल मर्मत गर्ने निर्णय पनि गरिएको छ।
यसका साथै, बैठकले प्रदेशसभाबाट पारित संकल्प प्रस्तावहरू कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने निर्णयसमेत गरेको छ। अति विपन्न तथा सिमान्तकृत समुदायको बासस्थान व्यवस्थालाई उच्च प्राथमिकता दिने निर्णय गरिएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्रको एक अति सिमान्तकृत परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गर्नुभएको छ।
त्यस्तै, आर्थिक अभावका कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा हासिल गर्न नसकेका जेहेन्दार विद्यार्थीहरूलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो।

















