बैतडी । प्रदेश युवा परिषद्को आयोजनामा बैतडीको धार्मिक तथा पर्यटकीय स्थल पत्ताल भुमेस्वरमा सरसफाई गरिएको छ । ‘स्वच्छ प्रदेश स्वस्थ युवा,स्वास्थ्य युवा समृद्ध प्रदेश समाजका लागी एक दिन’ भन्ने मुलनाराका साथ सरसफाई गरिएको हो ।
पर्यटकीय क्षेत्रको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत प्रदेश युवा परिषद्को आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
पत्ताल भुमेस्वर धाममा दक्षिण एसियाकै सबैभन्दा ठुलो गुफा, आकर्षक तलाउ तथा रमणीय ठाउँ भएर पनि खासै प्रचारप्रसारमा आउन नसकेकाले यस तर्फ सरोकारवालाहरुको ध्यान जानुपर्ने युवा उद्यमीहरूका लागि पर्यटकीय क्षेत्र भएकाले व्यवसायमा टेवा पुग्ने प्रदेश युवा परिषद्का कार्यकारी सदस्य लक्ष्मी जोशीले बताइन् ।
आफूहरूले गरेको सरसफाई एकै दिनका लागी भए पनि अरू व्यक्तिमा समेत पत्ताल भुमेस्वर धामप्रति सद्भाव जगाउन यो कामको थालनी गरेको उनको भनाई छ । आगामी दिनमा समेत पत्ताल भुमेस्वर लगायत अन्य पर्यटकीय स्थलहरूको संरक्षणमा जोड दिने जोशीले जानकारी दिइन् ।
सरसफाई कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर र प्रदेश युवा परिसदका सदस्य ईश्वरी दत्त भट्ट (राजीव) लगायत बैतडीका युवा विद्यार्थीका साथै प्रहरी चौकी सतबाँझका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । साथै यो अभियान सुदूरपश्चिमका नौ वटै जिल्लाहरूमा सञ्चालन गरिने प्रदेश युवा परिषद् सुदूरपश्चिमले जनाएको छ ।